अनसनरत डा.केसीका मागहरु सम्बोधन गर्न वार्ता सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ

ताजा खबर

काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा.गोविन्द केसीका मागहरु सम्बोधन गर्न वार्ता सुरु गरेको बताउनुभएको छ ।

आज (मंगलबार) बालुवाटारमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवनरक्षाबारे चासो राखेपछि प्रधानमन्त्री ओलीले डा.केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको बताउनुभएको हो ।

आजको सचिवालय बैठकमा नेताहरुले अनसनरत डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने बताएपछि सोही विषयमा बैठक केन्द्रित भएको बताइएको छ । अन्य विषयमा सामान्य कुरा मात्रै भएको तर, बैठक लगभग डा.केसीको विषयमै केन्द्रित हुन पुगेको जानकारी गराइएको छ ।

डा.केसीका मागको बारेमा सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिदै प्रधानमन्त्री ओलीले शिक्षा सचिवलाई कुरा गर्न पठाएको बताउनुभयो । साथै, डा.केसीले पनि धेरै जिद्दी गर्ननहुने उहाँको भनाइ थियो ।

त्यसोत, प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नेताहरुले डा.केसीबारे आवाज उठाउनुभन्दा केही समय अगाडि मात्रै शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा.केसीसँग भेट्न अस्पतालमा पठाउनुभएको थियो ।

विगत २२ दिनदेखि विभिन्न ६ बुँदे माग राख्दै डा.केसी अनसनरत हुनुहुन्छ । आजको सचिवालय बैठकमा धेरैको चासो रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीका तर्फबाट कुनै प्रस्ताव नै पेश नभएको बताइएको छ । न्युज नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *