सरकार र डा. केसी पक्षबीच वार्ता सकारात्मक, वार्ता साँझ पुनः बस्ने गरी स्थगित

ताजा खबर

काठमाडौं, २२ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसीका मागको सम्बन्धबारे सरकारी वार्ता टोली र डा.केसीको प्रतिनिधिबीचको वार्ता केही समयको लागि स्थगित गरिएको छ ।

विहीबार (आज) दिउँसो करिब साढे ४ घण्टादेखि चलेको वार्ता दिउँसो ३ बजे केही समयका लागि स्थगित गरिएको बताइएको छ । सरकारले डा.केसी अनशन बसेको २४ दिनपछि वार्ता टोली गठन गरे २५ औं दिनमा औपचारिक वार्ता सुरु गरेको हो ।

साढे ४ घण्टा लामो वार्तामा दुवै पक्षले चाँडोभन्दा चाँडो सहमति गरेर डा.केसीको अनशन तोडाउने गरी सहमति खोज्ने प्रयास गरेका जानकारी गराइएको छ । दुबै पक्षका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको वार्तामा सहभागी दुबैपक्षका प्रतिनिधिको भनाइ छ ।

डा.केसीका सहयोगीका अनुसार वार्ता सकारात्मक रहेको र साढे चार बजेपछि पुनः बस्नेगरी वार्ता स्थगित गरिएको हो ।

यता सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिक्षामन्त्रीको भर्चुअल बैठकमा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि वार्ता स्थगित भएको जनाइएको छ ।

बुधबार मात्रै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

त्यस्तै, सरकारले वार्ता टोली गठन गरे लगत्तै केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । हाल डा. केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *