यस कारण फेरी रोकियो डा. केसीसंगको वार्ता

ताजा खबर

काठमाडौ । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै घोषणा गरिएको विरोधका कार्यक्रमलाई स्थगित गरेको छ । बिहिबार संघका महासचिव डा.बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै सरकार र डा.केसीका तर्फबाट वार्ता टोली गठन गरी सम्वादको वातावरण तय गरेकोले विरोधको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै संघबाट घोषणा गरिएको मिति २०७७ आश्विन २३ गतेको आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
अनसनरत डा.गोविन्द केसीका मागको सम्बन्धमा सरकारी पक्ष र डा.केसीका प्रतिनिधिबीचको वार्ता रोकिएको छ ।

विहीबार डा.केसीका मागको सम्बन्धमा थप गृहकार्य आवश्यक रहेको भन्दै सरकारी दुवै पक्षबीचको वार्ता रोकिएको हो । आज विहान साढे दश सुरु भएको वार्ता दिउँसो ३ बजेपछि डेढ घण्टा रोकिएको थियो । त्यस्तै, साँझ ५ बजे पुनः सुरु भएको वार्ता थप गृहकार्य आवश्यक रहेको भन्दै राति पौने ९ बजे रोकिएको बताइएको छ । डा.केसी र सरकारी टोलीबीचको वार्ता जारी रहेको थप गृहकार्य आवश्यक भएकाले दुवै टोली आन्तरिक छलफलमा रहेका जानकारी गराइएको छ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । त्यस्तै, सरकारले वार्ता टोली गठन गरे लगत्तै केसीको तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । हाल डा.केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । ताजा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *