बजारमा मूल्यवृद्धि भएकाे छैन, एकाध वस्तुमा हुनु स्वाभाविक हाे : मन्त्री भट्ट

ताजा खबर

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताउनुभएको हो । उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गर्नुभएको छ ।

तर विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक/दुई वटा वस्तुमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीँ पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरु हुन्, त्यसमा महँगी भन्ने छैन । अब एकाध वस्तुमा हुने स्वाभाविक हो । हिजो पनि हुन्थ्यो ।’

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उहाँले बताउनुभयो । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्त्वपूर्ण भएको मन्त्री भट्टले बताउनुभयो ।

आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टले गर्नुभएको छ । कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उहाँले बताउनुभयो । उज्यालो अन्लाईन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *