बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

अन्तरास्ट्रिय

काठमाडौं, १५ भदौ । सरकारले दैनिक ८ सय नेपाली स्वदेश ल्याउने गरी उडान तय गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएको निर्णयमा हेरफेर गर्दै दैनिक ८ सय यात्रु ल्याउने निर्णय गरेको हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडानको संख्या थप्ने बताइएको छ । यसअघिको दैनिक ५ सयको दरमा यात्रु ल्याउने सरकारको निर्णय थियो ।

अब सरकारले ८ सयको दरले दैनिक यात्रु ल्याउने र त्यसअनुसारकै व्यवस्थापनको तयारीमा सरकार रहेको बताइएको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाली कामदारलाई पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताउनुभयो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार सार्वजनिक गर्दै उहाँले सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृतीका काम हुने पनि प्रष्ट पार्नुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका लागि सरकारसँग यसअघिबाटै प्रस्ताव राख्दै आएको थियो । यो निर्णयसँगै श्रम स्वीकृतिका कारण रोकिएको कामदारहरु बैदेशिक रोजगारीमा जान सक्नेछन् । तर उनीह्ररु रोजगार दाताको माग अनुसार जानसक्ने मन्त्री खतिवडाले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । यसअघि तत्कालै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारले जनाएको थियो । तर विदेशबाट पनि धेरै यात्रु आउने हुनाले व्यवस्थापनमा समस्या हुने भएकाले केहिदिन पर सार्नु परेको मन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले पीसीआर परीक्षणको सुविधा भएका मुलुकबाट आउने यात्रुलाई ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाएर सीधै घर जान दिने बताएको छ । तर यात्रुले १४ दिन होम क्वारेन्टाइन बस्ने प्रतिबद्धता जनाउनुपर्नेछ । त्यस्तै पीसीआर सुविधा नभएको मुलुकबाट आएका यात्रुले काठमाडौंमा सरकारले तयार गरेको होटल क्वारेन्टाइनमा सशुल्क ७ दिन अनिवार्य बस्नुपर्ने र पीसीआर पोजेटिभ आए मात्रै घर जान पाउनेछ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भए गरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

बैठकले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ । त्यस्तै सरकारले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ ।Sourcenews24

Leave a Reply

Your email address will not be published. Required fields are marked *