काठमाडौं, १५ पौष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।
हिजो मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो ।
ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो । यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझाव मात्रै दिन आग्रह गर्नुभयो ।
मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो । तर समय परिस्थितिअनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने पनि मन्त्री ढकालले बताउनुभयो ।
यस्तै व्यक्तिगत हितको लागि भन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न समेत आग्रह गर्नुभयो ।